पुनम देवीको जीवन अनेकौं सामाजिक, आर्थिक र पारिवारिक कठिनाइहरूले भरिएको छ। दलित समुदायकी छोरी भएर पनि उनले थापा जातका अम्बर बहादुर थापासँग अन्तरजातीय विवाह गरिन्, जुन समाजले स्वीकार गर्न सकेन। त्यसपछि उनीहरू भारत पलायन भए।
भारतमा श्रीमानको मृत्यु भएपछि उनी नेपाल फर्किइन् तर नागरिकता नहुँदा सरकारी सेवा-सुविधाबाट वञ्चित रहिन्। माइतीबाट पनि सहयोग नपाएपछि उनी छोरीसहित दुःखसाथ जीवन बिताइरहेकी थिइन्।
एभरेष्ट क्लब दैलेख र सेभ द चिल्ड्रेनको ‘पँहुच परियोजना’मार्फत पुनमको पहिचान भयो। वडास्तरमा समन्वय गरी २०७९ माघ २४ गते उनलाई नागरिकता प्रदान गरियो। त्यसपछि उनले एकल महिला भत्ता (रु. २,६६० प्रतिमहिना) पाउन थालिन्।
छोरी निशा थापाले विद्यालयबाट छनोट भई छात्रवृत्तिको रूपमा वार्षिक रु. १२,००० दुई सत्रका लागि प्राप्त गरिन्। आमाको नागरिकता भएपछि छोरीको पनि नागरिकता बन्न सफल भयो।
अहिले पुनम र उनकी छोरी दिदीको घरमा बसोबास गर्दैछन् र ‘जनता आवास कार्यक्रम’ अन्तर्गत रु. ३ लाखको सहयोगमा घर निर्माण प्रक्रिया सुरु भएको छ।